”खर बजू र घर”


कविताः   ”खर बजू र घर”
लविन्द्र कुलुङ

सिङ्गै पहाडको दारी जुङ्गा उखेलेर

बजूले छाउने गर्छिन खरले घर

याम फेरिरहन्छ छानो चुहिरहन्छ ।

 

बजूको सपनामा पनि छानो चुहिरहेकै हुन्छ

वर्ग विरुद्ध वर्ग युद्ध गर्ने समाजवादीहरुले

बजूको घरको खरको छानो कहिल्यै देख्दैनन् ।

 

याम फेरिरहन्छ बजूको अवस्था फेरिएको छैन

भन्नेहरुले त भनेकै हुन;

अवस्था फेरिन व्यवस्था फेरिनु पर्छ

माग्नेहरुले त बजूको जवान छोरा मागैकै हुन्

बजुले पनि कलेजो दिएर पठाएकै हुन्

तर लानेहरुले कहिल्यै फर्काइदिएनन् ।

 

यामहरु पालै पालो फेरिरहन्छ्न्

कहिले वर्षा त कहिले हिउँद

बर्षाको जुकाले चुसेकै हुन्छ बजुको रगत

हिउँदको हिउँले खाएकै हुन्छ खुट्टाका औंलाहरु

प्रकृति संग संघर्ष गरिरहेकी मेरी बजूलाई थाहै छैन

यामहरु भनेकै सत्ता र शक्ति हुन् ।

 

बजुलाई धमिला अवास्तविक आशाहरुले तर्साउछन्

सबै चुनौतीहरुको सामना गर्न तयार मेरी बजूलाई

भोक संग लड्न भने असमर्थता व्यक्त गर्दै भन्छिन्

रोग भनेकै भोक हो ।

 

आफ्नो दु:ख सम्झेर बजूलाई लाग्ने गर्छ

किन खोलेमै कटाउनु पर्छ केही रातहरु ?

कहिले भरिने होर गालाको खोपिल्टो ?

बजूलाई थाहै छैन कोदो भकारीमा सरकार नामको मुसो पसेको छ

ठग मुसोहरुको भुँडीमा बोसो भरिसकेको छ ।

मेरो बजूको रोग छ

रोग छ भन्नू नै भोक छ भन्नू हो

राजतन्त्रवादीले भनेकै हुन राजाले छोएर रोग निको हुन्छ

यस्तै भन्यो लोकतन्त्रका प्रशिक्षित गोरिल्लाहरुले

पनि र त बजुले गरिखाने हातका औंलाहरु मत-पत्र संगै दिएर पठाएकि हुन्

बजू अझै पनि भोकै छिन् रोगी नै छिन् खोकी नै रहेकि छिन् ।

देशमा;

यामहरु फेरिए

जुकाहरु फेरिए

मुसाहरु फेरिए

व्यवस्थाहरु फेरिए

अवस्था उस्तै छ उस्तै छ खर बजू र घर ।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार