अबको बिकल्प, एमसिसि पास, फेल वा सरकार परिवर्तनका संभावना: पुर्व एसएसपी श्रेष्ठ


भनिन्छ राजनिती भनेकै सत्ता र सम्भावनाको खेल हो र राजनितीमा स्थाई शत्रु कहिले पनि हुदैन।त्यसैले गर्दानै हरेक दलले राजनितीमा आफूले सत्ता र कुर्चि प्राप्त गर्नको लागीनै बिभिन्न रणनिती, सिद्धान्त, बिचार ,षडयन्त्र अनि साम, दाम, दण्ड र भेदको प्रयोगका साथ उपयुक्त अवसरको खोजि गर्दै सत्तामा पुग्ने कोशिस गरिरहेको हुन्छ।

मुलुकको राजनैतिक ईतिहासलाई फर्किएर हेर्ने हो भने बिभिन्न काल खण्डमा नेपालका राजनितीक दलहरुले माथिका भनाईहरुलाई पुष्ठ्याई गर्दै आईरहेको पाईन्छ। नेपाली जनताहरुले पनि पालै पालो सवैदलहरुलाई मौका र अबसर प्रदान गर्दै आईनै रहेको छ।

पछिल्लो पटक २०७४ शालको आम निर्वाचनमा झण्डै दुई तिहाई मतका साथ नेपाली जनताले वामपन्थि (तत्कालिन नेकपा)दललाई सत्ता सुख भोगको सुनौलो अवसर प्रदान गरेकै भए तापनि बिभिन्न आन्तरिक र वाह्य स्वार्थ, सत्ता, कुर्चि, अन्तर द्वन्द्व , टुट – फुट र भागबण्डाको कारण उक्त दलको सरकार ३ बर्ष भन्दा बढि टिक्न सकेन। दुई दुई पटक सम्म संसद विघठन भए तर उक्त कार्यलाई सम्मानित सर्वोच्च अदालत वाट असंबैधानिक ठहर गरी परमादेशको माध्यमवाट विपक्षमा रहेको नेपाली काङ्ग्रेस दललाई नया सरकारको नेतृत्व प्रदान गर्ने सुअवसर प्राप्त भएको थियो। गठबन्धनको सरकारको रुपमा उसलाई हालसम्म एमाओवादी, एसमाजवादी र जसपाले साथ दिईरहेकोमा एमसिसिले संसदमा प्रवेश पाएसंगै यस बिषयमा देखिएको अन्तर बिरोध ,पक्ष, बिपक्ष र तटस्थ रहने धारणाहरुले गर्दा पुन एकपटक फेरी सत्ता परिवर्तन र नया गठबन्धन हुन सक्ने संभावनाका राजनितिक समिकरण, लेनदेन , भेटघाट र सम्झौताहरु तिव्र रुपमा अगाडी वढिरहेको छ।

हालसम्मको परिस्थितीमा एमसिसिको बिषयलाई लिएर नेपालका राजनितीक दलहरुको निम्नानुसारको धारणा रहेको पाईन्छ।

१• नेपाली कांङ्ग्रेसको शुरुआत देखिनै एमसिसि राष्ट्रिय हितमा रहेको हुदा यसलाई पास गर्नु पर्दछ भन्ने दलको एउटै धारणा रहेको छ। यसमा जसपा दलका डा• बाबुराम भट्टराई र लोसपा ठाकुर समेतको समर्थन रहेको छ।

२• बर्तमान सत्ता साझेदारी दलहरुमा एमाओवादी र एसमाजवादी दलको धारणा एमसिसि पास नगर्ने तर सरकार, सदन र सडकमा आफ्नो पकड जमाई राख्ने रहेको छ।

३• नेकपा एमालेको धारणा उसले दलवाट कारवाही गरेका १४ जना संसदहरुको पदको खारेजी वा शभामुखको राजिनामा वा गल्ति स्विकार नगरे सम्म र गठबन्धन सरकारको समान धारणा नआएसम्म तटस्थ रहने र संसदमा अवरोध गरिरहने रहेको छ।

यि सवै दलहरुको धारणालाई सुक्ष्म रुपमा बिश्लेषण गर्दा एमसिसि फेल-पास वा सरकार परिवर्तनका निम्न विकल्प र संभावनाहरुलाई आंकलन गर्न सकिन्छ।

१• एमसिसि फेलनै भएपनि गठबन्धनको सरकारलाई निरन्तरता दिने।
२• नेकपा एमालेका पूर्व सर्तहरुको संवोधन गर्ने, गठबन्धन भत्काउने, नेका र एमालेको नया गठबन्धन सरकार वनाउने र एमसिसि पास गराउने।
३• नेकपा एमाले र एमाओवादी मिलेर एमसिसि फेल , गठबन्धन तोड्ने र नया सत्ता साझेदारी वन्ने।

सम्भबतः अबका केहि दिन भित्र नेपालको राजनितीले नया मोड लिनको साथै मुलुकमा आन्तरिक द्वन्द्व, नारा जुलुश, विरोध प्रदर्शन , तोडफोड,आगजनिहरु तिव्र रुपमा हुन गई शान्ति सुरक्षाको अवस्थामा प्रतिकूल असर पर्न सक्ने भएको हुदा यस कुराहरुलाई गम्भिरताका साथ मनन गरि गृह मन्त्रालयको नेतृत्वमा बिशेष सुरक्षा योजना वनाई शसक्त रुपमा सुरक्षा फौज परिचालन गर्नु पर्ने आवश्यक्ता महशुस भएको छ। साथै निजी तथा सार्वजनिक धन-जनको क्षति हुन नदिन अत्यन्तै सावधानी र सतर्कताका साथ प्रभावकारी भिड तथा दंगा ब्यवस्थापन गर्नु पर्ने जिम्मेवारी र दायित्व राष्ट्र सेवक सुरक्षाकर्मिहरुको कांधमा आईपरेको हुंदा संयम,धैर्यता र शाहासका साथ आफ्नो कर्तब्य निर्वाह गर्ने छ भन्ने आम नेपाली जनताको चाहाना र अपेक्षा रहेको छ।धन्यवाद।
जय मुलुक। जय राष्ट्र।

महेश कुमार श्रेष्ठ
शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(अ•प्रा•)
२०७८ शाल, फाल्गुन ११ गते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार